सदाबहार न्युज
भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध महान भारतीय नागरिक रहेको भनि दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत आपत्ति जनाएका छन्।
‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ’, शर्माले ट्विटमा लेखेका छन्।
उनले आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य किमार्थ स्वीकार्य नरहेको बताएका छन्।
बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौँ भन्दै प्रवक्ता शर्माले लेखेका छन्, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्, मुल विषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।’
उनले भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि ‘नेपाल बुद्ध भूमि हो’ भनेर स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बोलेपछि खारेज भैसकेको बताउँदै भनेका छन्, ‘ फेरि पनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुस्खद छ ।’
शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय विदेश मन्त्री एस जय शंकरले गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ भनेपछि उक्त विषयले चर्चा पाएको हो।