अग्ला सैनिकप्रति राजाको आशक्ति, अग्लो जिउ हुनेलाई बढी तलब

काठमाडौं । विश्व इतिहासमा कैयन् यस्ता राजा तथा शासकहरुको बारेमा पढ्न पाइन्छ, जो विभिन्न कारणहरुले गर्दा संसारभर चर्चित रहे ।
कोही शासक आफ्नो उदारताका लागि उदाहरणीय रहे भने कोही क्रूरताका लागि ।

तर दुनियामा एकजना यस्ता राजा पनि थिए जो त्योभन्दा अलग्गै कारणले चर्चित रहे । उनी वास्तवमा एकजना सनकी राजा थिए । जसले जिउको उचाइ हेरेर सैनिकको तलब निर्धारण गर्दथे ।

इतिहासमा युरोपको एक शक्तिशाली अधिराज्य थियो प्रुसिया । त्यहाँका एक राजा फ्रेडरिक विलियम प्रथमले सन् १७१३ देखि १७४० सम्म शासन गरे । निकै शान्त र दयावान राजा मानिन्थ्यो उनलाई । आफ्नो सेना विस्तार गर्ने उनको ठूलो शौख थियो । आफू राजा बनेपछि उनले प्रुसियाको सेनाको संख्या ३८ हजारबाट बढाएर ८३ हजार बनाएका थिए ।

राजा फ्रेडरिक विलियम प्रथम


राजा फ्रेडेरिकलाई अग्लो जिउडाल भएका सैनिकहरु निकै मन पर्दथ्यो । उनको राज्यमा अग्लो कदका सैनिकहरुको छुट्टै रेजिमेन्ट थियो जसको नाम ‘पट्सड्याम जाएन्ट’ थियो । उक्त डफ्फामा सबै सैनिक ६ फिटभन्दा अग्ला थिए । राजा फ्रेडेरिकको सेनामा सबैभन्दा अग्लो जिउडालका सैनिकको नाम जेम्स किर्कल्याण्ड थियो । उनको उचाइ सात फिट एक इन्च थियो

राजा विलियमको सबैभन्दा खास विशेषता के थियो भने उनले आफ्नो सेनामा अग्लो जिउडालका सैनिकहरु भर्ति गराउनमा प्राथमिकता दिन्थे तर उनी युद्ध गर्न भने चाहँदैनथे । उनी केवल अन्य राज्यहरुलाई तर्साउनका लागि मात्र अग्लो कदका सिपाहीहरु भर्ना गर्दथे ।

रोचक त के भने छिमेकी राज्यहरुले समेत फ्रेडेरिकसँगको सुमधुर सम्बन्धका कारण आफ्नो देशमा रहेका अग्लो कदका युवाहरुलाई उनको देशको सेनामा भर्ति हुनका लागि पठाइदिन्थे । आसपासका जमिन्दारहरुले समेत आफ्नोमा काम गर्ने सबैभन्दा अग्ला मजदूरहरु राजालाई भेट चढाउँदथे ।

अग्ला सिपाहीहरुप्रतिको राजाको त्यो शौख समय क्रमसँगै सनकमा बदलियो । उनी आफ्ना अग्ला सैनिकहरुलाई अनौठा काममा लगाउन थाले । आफू उदास भएको बेला २÷३ सय जना सैनिकलाई दरबार भित्र बोलाएर नाचगान गराउँदथे । आफू बिरामी भएको बेला अग्ला सैनिकहरुलाई दरबार भित्र आएर हतियारसहित मार्चपास गर्न अह्राउँदथे ।

सैनिकहरुको शरीरको उचाइ अझै बढाउन भन्दै राजाले काठको र्याक बनाएका थिए । त्यसमा सैनिकहरुलाई बाँधेर जिउ तन्काइन्थ्यो ताकि सैनिकहरुको जिउ तन्किएर अग्लो बनोस् । जबर्जस्ती सैनिकहरुको जिउलाई यसरी बाँधेर तान्दा कैयन् सैनिकहरुको मृत्युसमेत भएको इतिहासमा उल्लेख छ । यतिमात्र कहाँ हो र रु उनको सनक यति धेरै चढ्यो कि हुँदाहुँदा आफ्ना अग्ला सैनिकहरुलाई र राज्यका अग्ला महिलाहरुसँग जबरजस्ती यौन सम्पर्क गर्न लगाए ।

३१ मे १७४० मा ५१ वर्षको उमेरमा राजा फ्रेडरिकको मृत्यु भयो । त्यस समय उनले स्थापना गरेको अग्लो कदका सैनिक डफ्फामा सैनिकहरुको संख्या ३ हजार पुगिसकेको थियो । उक्त टुकडीमा काम गर्ने सैनिकहरुको तलब अन्य सैनिकहरुको भन्दा बढी थियो ।

उनको मृत्युपछि पनि कैयौँ वर्षसम्म उक्त सैन्य टुकडी सक्रिय नै रह्यो । सन् १८०६ मा फ्रेडरिक विलियमका छोरा फ्रेडरिक ग्रेटले अग्ला सैनिकहरुको उक्त रेजिमेन्टलाई भंग गरी आम सैन्यवलमा समायोजन गरे ।

–एजेन्सी

Facebook Comments
छुटेकाहरू