टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा आयुष्मान खुराना

बलिउडका अभिनेता तथा संगीतकर्मी आयुष्मान खुराना टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिहरुको सूचिमा परेका छन्। टाइम म्यागजिनले सार्वजनिक गरेको सन् २०२० का १०० प्रभावशाली व्यक्तित्वको सूचीमा आयुष्मान परेका हुन्।

खुरानाले चलचित्रमा निभाउने सामाजिक पात्रको बारेमा उल्लेख गर्दै दीपिका पादुकोण लेख्छिन्, ‘मैले आयुष्मानलाई उनको पहिलो चलचित्र ‘विक्कि डोनर’ प्रदर्शनपछि चिनेकी हुँ, तर उनी त्योभन्दा कयौँ वर्ष अगाडिदेखि मनोरञ्जन क्षेत्रको हिस्सा थिए। तर तपाई र हामी आज उनको बारेमा कुरा गर्नुको कारण भने उनले चलचित्रमा काम गरेपछि छोडेको प्रभाव र सम्झनलायक कैयौँ चलचित्रहरुमा अभिनय गरेकोले हो। पुरुषप्रधान पात्र भइ बनेका चलचित्रहरु एकै किसिमका ‘रुढिवादी बहादुरी’ मा सिमित हुन्छन्। तर आयुष्मानले आफ्नो पात्रको माध्यमले सफलतापूर्वक त्यो परम्परालाई तोडेका छन्।’

प्रभावशाली व्यक्तिको सूचिमा परेपछि आयुषमानले लेखेका छन्, ‘टाइम म्यागजिनले दिएको पहिचानप्रति कृतज्ञ छु। कलाकार भएको नाताले मैले जहिले पनि चलचित्रको माध्यमले सकारात्मक परिवर्तनको लागि पहल गरिरहे, यसले मेरो यात्रा र व्यवस्थालाई वैधता दिएको छ। मलाई परिवर्तनको लागि समाजमा मानिसहरु बीच उचित विषयमा छलफल गराउने शक्ति चलचित्रसँग हुन्छ भन्ने विश्वास थियो। मेरा विषयवस्तु छनौटले म मेरो र देशवासीमा यो सन्देश पुर्‍याउन सकेको विश्वास गर्छु।’

आयुषमान केही वर्ष थिएटर र टेलिभिजनमा काम गरेर सुजित सिरकार निर्देशित चलचित्र ‘बिक्की डोनर’ बाट बलिउड चलचित्र क्षेत्रमा प्रवेश गरे। त्यसपछि उनले आलोचना पाए पनि सफल भएको चलचित्र ‘दम लगा के हैसा’मा अभिनय गरे। त्यसपछि ‘बरेलिकी बर्फी, सुभ मंगल सावधान, अन्धाधुन, बधाई हो, आर्टिकल १५, बाला’ मा काम गरे।

कोरोना भाइरस महामारीको समयमा उनले अभिनय गरेको चलचित्र ‘गुलाबो सिताबो’ अमेजनमार्फत प्रदर्शन भएको थियो। यो चलचित्रमा उनले बलिउडका दिग्गज कलाकार अभिताभ बच्चनसँग अभिनय गरेका छन्।

Facebook Comments
छुटेकाहरू