सदाबहार न्युज / बेलका बेलका नगरपालिकाले बेलका नगरपालिकाले राजनीतिक दलहरुलाई कोरोना खोप भागवण्डा नै लगाएको पाइएको छ ।
मेयर दुर्गाकुमार थापा (स्वस्तिक)ले वडा कार्यालयहरुमा पठाएको पत्रमा राष्ट्रिय मान्यता पाएका दलका १०/१० जना र स्थानीय तहका ३/३ जनालाई खोप दिन भनिएको छ । मेयरको पत्रमा यसअघि छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहान, नागरपालिकाका कर्मचारी, पत्रकार, निजामती कर्मचारी, नेपाल प्रहरीलाई पनि कोरोना खोप दिन भनिएको छ ।
त्यही पत्रका आधारमा पहुँचवालाहरुले २७ गते कोरोना खोप लगाएको पाइएको छ ।
जबकी जेष्ठ २३ गते कोभिड खोप समन्वय तथा अनुगमन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईको संयोजकत्वमा बसेको बैठकले ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई मात्र खोप लगाउने निर्णय गरेको थियो ।
खोप कार्यक्रम दुई दिन तोकिएको थियो । त्यसअनुसार बेलकामा २५ गते ४८ जना र २६ गते ४०९ जनाले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख कमल चौधरीले जानकारी दिए ।
तर मेयरले राजनीतिक दललाई भाग लगाएर पत्र लेखेपछि २७ गते २४१ जनाले कोरोना खोप लगाएका छन् । नगरपालिकाका प्रवक्ता मोहन घिमिरेले लक्षित वर्गभन्दा बाहिर खोप लगाएको स्वीकार गरे । ‘अग्रपंक्तिमा रहेर काम गर्ने राजनीतिक दलका प्रतिनिधि, अनुगमन समितिमा रहेका राजनीतिक दलका प्रतिनिधिलाई लगाउनै पर्ने भएकाले खोप लगाएको हो’ उनको दाबी छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले भने राजनीतिक दलका प्रतिनिधि, छुटेका निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, पत्रकारलाई लगाउने अनुमति नभएको बताए । ‘के कसरी लगाएका हुन्, लगाउने निर्देशन दिने र लगाउनेले जानुन्’ उनले भनेका छन् ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले पनि पहिलो लटमा छुट भएका जेष्ठ नागरिकलाई लगाउन भनेको, तर राजनीतिकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि, पत्रकारलाई लगायतलाई खोप दिन नभनेको बताए ।
